सारांश
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ ।
विभागले जारी गरेको विशेष मौसम बुलेटिनअनुसार अष्टमी, नवमी र दशमीका दिन देशका विभिन्न भूभागमा वर्षा हुने सम्भावना छ ।
असोज १४ (अष्टमी) मा बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ ।
असोज १५ (नवमी) मा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा वर्षा हुने सम्भावना छ ।
असोज १६ (दशमी/टीका) मा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भाग, कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा, साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा हुने अनुमान गरिएको विभागले जनाएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बाहिरिने मिति अक्टोबर २ हो । यस वर्ष मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ (दशमी) कै दिन परेकाले दशैं अवधिभर वर्षाको सम्भावना उच्च रहेको विभागले जनाएको छ ।