Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आज कुष्माण्ड नवमी पर्व मनाइँदै


सारांश

आज कुष्माण्ड नवमी पर्व मनाइँदै
images

काठमाडौं । मधेस प्रदेशका महोत्तरीसहित जिल्लामा आज कुष्माण्ड नवमी पर्व मनाइँदैछ ।

आज कार्तिक शुक्ल पक्षको नवमी तिथि, आजको यो विशेष दिन कुष्माण्ड नवमीलाई अक्षय नवमी, अमला नवमी र धात्री नवमीको नामले चिनिन्छ ।

आजको दिन अमलाको वृक्षको पूजा गर्ने गरिन्छ । भगवान विष्णु कार्तिक शुक्ल नवमीबाट कार्तिक पूर्णिमा तिथिसम्म अमलाको रुखमा निवास गर्नुहुने धार्मिक मान्यता रहेको छ । आजको दिन अमलाको अतिरिक्त भगवान् विष्णुजीको पनि विधि विधानले पूजा अर्चना गर्ने गरिन्छ ।

कुष्माण्ड नवमीको दिन स्नान, पूजा, तर्पण तथा अन्न आदिको दान गर्नाले अक्षय फल मिल्ने शास्त्रोक्त कथन रहेको छ ।

अमला फलको वृक्षमा भगवान् विष्णु र भगवान् शिवको बास हुने धार्मिक मान्यता रहेको छ। त्यसैले आजको दिन सबैले शुद्ध चित्तले अमलाको वृक्षको पूजा अर्चना गरेमा भगवान् विष्णु र भगवान् शिवको कृपा रहने र अझ अमला र पिपलको विवाह गराइदिनाले अधिक पुण्य प्राप्त हुने मान्यता रहेको पाइन्छ। यसरी कमाइएको पुण्य यस जन्ममा मात्र नभई आउने कैयौँ जन्मसम्म फलदायी रहने समेत विश्वास गरिन्छ।

पुराणमा उल्लेख भए अनुसार आजकै दिन (कार्तिक शुक्ल पक्षको नवमी तिथि) भगवान् विष्णुले कुष्माण्ड नामक दैत्यको वध गरेका हुन्। त्यसै कारण आजको दिनलाई कुष्माण्ड नवमी भनिएको हो। आजको दिनलाई अक्षय नवमी पनि भनिन्छ।

यो विशेष दिनमा अमलाको वृक्षबाट अमृतको थोपाहरू झर्ने मान्यता छ त्यसैले आज अमलाको वृक्ष तल बसेर भोजन गर्नाले पनि समस्त रोगव्याद नष्ट हुने जनविश्वास छ। आज बिहान उठेर नुहाएपछि अमलाको वृक्षमा शुद्ध जल चढाउनु निक्कै फलदायी मानिन्छ। यसरी जल चढाएर आजको दिन व्रत बस्नाले सम्पूर्ण पापहरू नष्ट भई सबै मनोकामना पुरा हुने जनविश्वास रहेको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij