सारांश
काठमाडौं । चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीको नेतृत्वमा कर्मचारी सहितको जम्बो टोली यतिबेला दुबईमा छ । बोर्डले ३० लाख रुपैयाँ खर्चेर दुबईमा नेपाली फिल्म फेस्टा कार्यक्रम राखेको छ ।
तर त्यो फेस्टामा नेपाली चलचित्रका आधिकारिक संस्था नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाजका पदाधिकारीलाई यो विषयमा पत्तो समेत छैन ।
दुबईमा यती धेरै पैसा खर्च गरेर गरिएको फेस्टाप्रति नेपाल चलचित्र निर्माता संघले आपत्ती जनाएको छ। नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले भने,‘चलचित्र संघ, निर्माता संघ, निर्देशक समाज, कलाकार संघसहित चलचित्रको आधिकारिक संस्थालाई बाईपास गरेर बोर्डले त्यहाँ के कार्यक्रम कसका लागि र किन गरेको भन्ने कुराको हिसावकिताव हामी बोर्ड र सञ्चार मन्त्रालयसँग माग्नेछौं ।’
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले यो फेस्टाप्रति आफुहरुको सहमती नरहेको बताए। ‘त्यो फेस्टिबलमा चलचित्र सम्बन्धि संघ संस्थासँग सल्लाह लिएर उनीहरुलाई समेट्नु पर्छ भनेर हामीले दिएका सुझाब भुवन केसीले वेवस्ता गर्नुभयो ।’उनले बताए ।
यस्तै नेपाल चलचित्र निर्देशक समाजका पदाधिकारी र नेपाल चलचित्र संघका पदाधिकारीले पनि यो फेस्टाको कुनै आधिकारिक पत्र तथा जानकारी बोर्डबाट नआएको बताएका छन् ।