सारांश
काठमाडौं । सरकारी संस्थामा कार्यरत व्यक्तिले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार-प्रसारमा संलग्न हुन वा प्रचार-प्रसार गर्न नहुने निर्वाचन आचारसंहिता विपरित नवलपरासी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद चौधरीको प्रचार-प्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसँग स्पष्टीकरण सोधेको छ ।
‘तपाईं चलचित्र विकास बोर्डको अध्यक्ष रहेको व्यक्तिले राजनीतिक दलका उम्मेदवारको प्रचार-प्रसार गर्नुभएको होईन भन्ने प्रमाण के छ ?,’ आयोगले अध्यक्ष केसीलाई पत्र काट्दै सोधेको छ । उम्मेदवारको प्रचार-प्रसारमा सहभागी भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम कारवाही किन हुनु नपर्ने भनेर पनि आयोगले केसीसँग स्पष्टीकरण मागेको छ ।
सरकारी पदमा बहाल रहेको व्यक्तिले जानाजान निर्वाचनमा उम्मेदवार रहेको व्यक्तिको प्रचार-प्रसार गरेको ठहर भएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ बमोजिम विभागीय कारवाही हुनसक्ने अवगत गराउँदै आयोगले कारवाही किन हुनु नपर्ने भनेर पनि केसीसँग जवाफ मागेको छ । बुधवार नवलपरासीमा भएको विनोद चौधरीको चुनावी सभामा भुवन सहभागी भएका थिए ।