सारांश
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबिया स्कटल्यान्डसँग ४३ रनले पराजित भएको छ । नेपाल भ्रमणमा नामिबिया सबै चारै खेलमा पराजित भएको छ । नामिबियाको चारै हारले भने नेपाललाई फाइदा पुगेको छ । नामिबियाको हारले नेपाललाई शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्ने सम्भावना बढेको छ ।
लिग–२ बाट शीर्ष तीन टिमले जिम्बाब्वेमा १८ जुनदेखि ९ जुलाईसम्म हुने एकदिवसीय विश्वकप–२०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् । बाँकी चार टिमले भने नामिबियामा २४ मार्चदेखि ४ अप्रिलसम्म हुने आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन् ।
प्लेअफमा च्यालेन्ज लिगबाट आएका शीर्ष दुई टिम र लिग–२ को पुछारमा रहेका चार टिमले प्रतिस्पर्धा गर्नेछन् ।
नामिबियामा हुने विश्वकप क्वालिफायर प्लेअफका शीर्ष दुई टिमले पनि जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् ।
जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा क्वालिफायर प्लेअफका शीर्ष दुई टिम, क्रिकेट विश्वकप लिग–२ बाट शीर्ष तीन टिम र आईसीसीको पूर्ण सदस्य राष्ट्रहरूको सुपर लिगबाट पुछारमा रहेका पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।
सुपर लिगको शीर्ष सात टिमले सिधैँ आईसीसी एकदिवसीय विश्वकपका स्थान बनाउनेछन् । आयोजक राष्ट्रका रुपमा भारतले पनि सिधैँ विश्वकपमा स्थान बनाउनेछ ।