काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को नयाँ कार्यसमिति चयन भएको छ। विधानअनुसार वरिष्ठ उपाध्यक्ष रहेका मोहन डाँगी स्वतः अध्यक्ष बनेका छन् भने कोषाध्यक्षबाहेक सबै पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्।
शुक्रबार सम्पन्न वार्षिक साधारणसभामा विभिन्न पदमा उम्मेदवारी दिएका उत्तरकुमार लामा र बलराम खतिवडा समूहबीच अन्तिम समयमा सहमति भएपछि अधिकांश पदमा निर्विरोध चयन सम्भव भएको हो।
कोषाध्यक्ष पदमा भने निर्वाचन हुँदा शंकर बस्याल २६७ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी मिथुन चक्रवर्तीप्रसाद पौडेलले ८२ मत प्राप्त गरे।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उत्तम लामा, उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, सुसन कर्माचार्य, विक्रम विष्ट र हिमप्रसाद पाठक निर्वाचित भएका छन्। महासचिवमा टेकनाथ आचार्य तथा उपमहासचिवमा कविता पोखरेल चयन भएका छन्।