Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

असार १५ देखि देशभर वर्षा बढ्ने संकेत


सारांश

असार १५ देखि देशभर वर्षा बढ्ने संकेत
images

काठमाडौं । देशका विभिन्न स्थानमा आज मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहे पनि लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा तातो हावाको लहर चल्ने पूर्वानुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली तथा पहाडी भूभागका थोरै स्थान र कोसी, मधेस, वाग्मती तथा गण्डकी प्रदेशका केही तराई क्षेत्रमा मध्यमसम्म वर्षा हुन सक्छ। लुम्बिनी र सुदूरपश्चिमको तराईमा भने मौसम मुख्यतः सफा रहनेछ।

रातिको समयमा पनि कोसी, वाग्मती, गण्डकी तथा लुम्बिनीका केही हिमाली–पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यस्तै, कोसी र मधेसका केही तराई क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार पश्चिम तराईमा सोमबारसम्म उल्लेख्य वर्षाको सम्भावना कम छ। तर, असार १५ देखि देशका अधिकांश क्षेत्रमा राम्रो वर्षा हुने र त्यसपछि मनसुन पश्चिम नेपालतर्फ विस्तार हुने अपेक्षा गरिएको छ।

हाल कोसी, मधेस र वाग्मती प्रदेशका अधिकांश भूभाग, गण्डकीका केही भाग तथा लुम्बिनीको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ भने अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij