सारांश
काठमाडौं । साविक विजेता अर्जेन्टिनाले रोमाञ्चक जित निकाल्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
मियामी स्टेडियममा आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले केप भर्डेलाई अतिरिक्त समयसम्म चलेको प्रतिस्पर्धामा ३–२ गोलले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि विजेताको टुंगो अतिरिक्त समयमा लागेको थियो।
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले २९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, ५९औँ मिनेटमा केप भर्डेका डेरोय डुआर्टेले बराबरी गोल फर्काएपछि खेल पुनः प्रतिस्पर्धात्मक बनेको थियो।
त्यसपछि निर्धारित समयमा कुनै टोलीले थप गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
अतिरिक्त समयको दोस्रो मिनेट (९२औँ) मा लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः २–१ को अग्रता दिलाए। तर, १०३औँ मिनेटमा सिड्नी काब्रालले केप भर्डेका लागि गोल गर्दै खेललाई फेरि २–२ को बराबरीमा पुर्याए।
खेल निर्णायक मोडमा पुगेका बेला १११औँ मिनेटमा केप भर्डेका डाइनी बोर्जेसबाट भएको आत्मघाती गोल अर्जेन्टिनाको जितको आधार बन्यो। त्यससँगै अर्जेन्टिनाले ३–२ को रोमाञ्चक जित निकाल्दै अन्तिम १६ को यात्रा तय गर्यो।
अब अर्जेन्टिनाले क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम १६ मा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।