Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

विश्वकप फाइनलपछिको नयाँ भिडिओ सार्वजनिक : मोलिनाको मुक्कापछि मैदानमा झडप, परेडेसलाई रातो कार्ड


सारांश

विश्वकप फाइनलपछिको नयाँ भिडिओ सार्वजनिक : मोलिनाको मुक्कापछि मैदानमा झडप, परेडेसलाई रातो कार्ड
images

काठमाडौँ । विश्वकप फाइनलपछि अर्जेन्टिनी खेलाडीहरूको व्यवहारलाई लिएर आलोचना भइरहेका बेला घटनाको नयाँ भिडिओ सार्वजनिक भएको छ। उक्त भिडिओमा झडपको सुरुवात अर्जेन्टिनाका फुलब्याक नाहुएल मोलिनाले गरेको देखिएको छ।

खेल सकिनेबित्तिकै स्पेनका खेलाडीहरू उत्सव मनाउन दौडिरहेका बेला मोलिनाले रोड्रीको पेटमा मुक्का हानेको दाबी गरिएको छ। त्यसपछि दुवैबीच भनाभन सुरु भयो र स्पेनका केही खेलाडी हस्तक्षेप गर्न पुगे। त्यसपछि अर्जेन्टिनाका लियान्द्रो परेडेस पनि मैदानमा आएर एरिक गार्सियासँग झगडामा उत्रिए। उनले गार्सियाको घाँटी समातेको र गाभीलाई धकेलेर लडाएको दृश्य पनि भिडिओमा देखिन्छ।

क्षणभरमै दुवै टोलीका खेलाडी, बेन्च र प्रशिक्षक मैदानमा आएपछि धकेलाधकेल र झडप चर्कियो। स्थिति नियन्त्रणबाहिर जान थालेपछि रेफ्री स्लाभ्को भिन्सिकले परेडेसलाई रातो कार्ड देखाए।

सेमिफाइनलमै अर्जेन्टिनाको आक्रामक खेलशैलीको आलोचना भएको थियो भने फाइनलपछि भएको यो घटनाले थप विवाद निम्त्याएको छ। अब फिफाले यस घटनामा कस्तो कारबाही गर्छ भन्ने चासो बढेको छ।

यता, झडप भइरहँदा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भने विवादबाट टाढै उदास मुद्रामा हिँडिरहेका देखिएका थिए। स्पेनका युवा स्टार लामिन यमालले उनीकहाँ पुगेर अंकमाल गरेका थिए भने दुवै खेलाडी झडपमा संलग्न भएनन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij