सारांश
काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध व्यवसायीबाट सामान वा सेवा खरिद गर्दा सक्कली बिल लिन सर्वसाधारणलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ पुरस्कार योजना लागू गर्ने भएको छ। ‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ भन्ने नारासहित घोषणा गरिएको यो योजना अब कार्यान्वयनमा आउने तयारीमा छ।
योजनाअनुसार १०० रुपैयाँभन्दा बढीको सामान खरिद वा होटल, रेस्टुरेन्ट तथा अन्य सेवामा गरिएको भुक्तानीपछि प्राप्त हुने सक्कली बिल नम्बरका आधारमा दैनिक एक जना सेवाग्राहीलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, प्रत्येक महिनामा दुई जना भाग्यशाली विजेताले बम्पर पुरस्कारस्वरूप जनही १० लाख रुपैयाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ।
सरकारले हाललाई प्रत्येक महिनाको १६ गते र मसान्तमा (पाक्षिक रूपमा) विजेताको घोषणा गर्ने तयारी गरेको छ। पुरस्कार वितरण, विजेता छनोट तथा अन्य व्यवस्थापनसम्बन्धी प्रक्रिया स्पष्ट पार्न छुट्टै कार्यविधि पनि तयार पारिएको सरकारले जनाएको छ।