सारांश
प्रारम्भिक चरणमा एम्बुलेन्स, सुरक्षा निकाय र अत्यावश्यक सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइएको छ। केही दिन परीक्षणपछि अन्य सवारीसाधनलाई पनि प्रवेश खुला गरिनेछ। परीक्षण अवधिभर कुनै शुल्क लाग्ने छैन।
दुई हजार ६ सय ८८ मिटर लामो सुरुङमार्गमा कार, भ्यान, बस तथा ट्रकका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ। पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा पेट्रोलियम वा विस्फोटक पदार्थ बोकेका सवारीलाई भने प्रवेश निषेध गरिएको छ।
जापान सरकारको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानीमा निर्माण भएको सुरुङमार्गमा अत्याधुनिक सुरक्षा, उद्धार, सिसीटिभी, सञ्चार तथा अक्सिजन आपूर्ति प्रणाली जडान गरिएको छ। दहचोक–सिस्नेखोला जोड्ने यो सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा खण्डको जाम छल्न र यात्राको करिब एक घण्टा समय बचत हुने अपेक्षा गरिएको छ।