सारांश
काठमाडौं । देशकै पहिलो नागढुंगा सुरुङमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। सुरुवाती चरणमा अत्यावश्यक तथा आपत्कालीन सेवामा प्रयोग हुने सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइने भएको छ भने केही समयपछि अन्य सबै सवारीसाधनका लागि पनि मार्ग खुला गरिने नागढुंगा सुरुङमार्ग परियोजनाले जनाएको छ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको सेवा शुल्क (दस्तुर) तिर्नुपर्ने व्यवस्था गरिएको छ। उक्त दस्तुर दर २०८२ साउन २६ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्वीकृत गरेको थियो।
निर्णयअनुसार सवारीसाधनलाई चार वर्गमा विभाजन गरिएको छ। पहिलो वर्गमा कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधन रहेका छन्। यी सवारीले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
दोस्रो वर्गमा मिनीबस, मिनी ट्रिपर र ट्रक समावेश छन्। यस वर्गका सवारीले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ।
तेस्रो वर्गअन्तर्गत बस तथा सिंगल रियर एक्सल भएका ट्रक पर्दछन्। यिनीहरूले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
चौथो वर्गमा मल्टी एक्सल ट्रक तथा अन्य भारी उपकरणसहितका सवारीसाधन राखिएका छन्। यी सवारीले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा २५० रुपैयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ।