सारांश
काठमाडौं । सम्राट फिल्मस् प्रा.लि. मार्फत संचालन हुने सम्राट स्टुडियो संचालनमा आएको छ । वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे तथा वरिष्ठ संगीतकार नारायण रायमाझीले काठमाडौंको अनामनगरमा संयुुक्त रुपमा सम्राट साउन्ड रेकर्डिङ स्टुडियोको रिवन काटेर औपचारिक उद्घाटन गरेका छन् ।
निर्देशक घिमिरेले यस स्टुडियोले गीतसंगीत तथा चलचित्र क्षेत्रमा फरकपन दिनुका साथै आगामी दिनमा गीत रेकर्ड र फिल्म डविङमा सजिकरणको एवं गुणस्तरीय काम हुने विश्वास व्यक्त गरे ।
त्यस्तै नारायण रायमाझीले मुम्वईमा लामो अनुभव संगालेर स्वदेशमा नै केहि गरौ भन्ने उद्देश्य साथ उदाएका भरतले त्यहाँको अनुभव यहाँ प्रयोग गर्ने र उक्त प्रयोगले काममा गुणस्तरीयता दिनुको साथै स्वदेशमा नै केहि गर्न सकिन्छ भन्ने सन्देश दिने बताए ।
संचालक भरत कँडेलले स्टुडियो निर्माणमा पछिल्लो प्रविधि प्रयोग भएको तथा मुम्वईको गुणस्तर पाउन सकिने बताउँदै सम्राट स्टुडियोले मुम्वईको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे । भारतको प्रशिद्ध शहर मुम्वईमा लामो समय रेकर्डिङ्गमा विताएका कँडेलले त्यहाँका चर्चित व्यक्तित्वहरु गौरङ अरोराबाट डविङको ज्ञान हासिल गरेका थिए भने तरुण शर्मा तथा राजश्री शर्माबाट मिक्सिङ लगायतका विषयमा दक्षता हाँसिल गरेका थिए।
निर्देशक दिपेन्द्र के. खनाल, निर्देशक माइकल चन्द, निर्देशक दिवाकर भट्टराई, चलचित्र सम्पादक दीर्घ खड्का, कलरिष्ट राजेन्द्र मोक्तान, गीतकर्मी नरहरि प्रेमी, संचारकर्मी दयाराम पाण्डे लगायतका चलचित्रकर्मी, संगीतकर्मी तथा पत्रकारहरुको उद्घाटन कार्यक्रममा उपस्थिति रहेको थियो ।