सारांश
काठमाडौं । राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा सङ्गीतकार राजेन्द्र बजगाई निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न प्रतिष्ठानको पहिलो साधारण सभाबाट बजगाई दुई वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा मोडल उषा उप्रेती, महासचिवमा सङ्गीतकार दीपक शर्मा, सचिवमा गायिका सुजाता केसी, कोषाध्यक्षमा गायक नारायण बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा भद्र बहादुर वली, महेन्द्र चन्द (माइकल), भुवन बहादुर नेपाली, पुष्कर सुनुवार, रिता केसी, उत्तम प्रसाद अधिकारी, शिलन लम्साल, मनोज परियार, नवराज उप्रेती, सबिन सुबेदी, बेनिस पौडेल र प्रतिक्षा काफ्ले निर्विरोध निर्वाचित भएका हुन् ।
खानेपानी मन्त्री अब्दुल खानको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा मन्त्री खानले आफू पहिले देखि नै कला प्रेमी रहेको बताउँदै आफ्नो व्यक्तिगत तथा मन्त्रालय र नेपाल सरकारका तर्फबाट हुन सक्ने सम्पूर्ण सहयोग गर्न आफू तयार रहेको जनाए। यस्तै कार्यक्रममा संस्थालाई सहयोग पुर्याउने बिभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै संस्थाका संरक्षक वरिष्ठ चिकित्सक डा. भोला रिजालले संस्थाको उद्देश्य मन परेर आफूले संरक्षकत्व प्रदान गरेको जनाए । उनले संस्थालाई सही मार्गमा हिँड्न सदैव आफ्नो अभिभावकिय भूमिका रहने पनि बताए।