सारांश
एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने भएका छन् । चीनका राष्ट्रपति सी चिनफिङको आसन्न रूस भ्रमण मित्रता, सहयोग र शान्तिको भ्रमण हुने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बताएका छन् ।
पछिल्ला वर्षहरूमा राष्ट्रपति सीले राष्ट्रपति पुटिनसँग निकट सम्पर्क कायम राख्दै आएका छन् । “उहाँहरूको नेतृत्व र मार्गदर्शनमा नयाँ युगका लागि समन्वयको चीन–रूस व्यापक रणनीतिक साझेदारीले दिगो, सुदृढ र स्थिर विकास हासिल गरेको छ,” वाङले नियमित पत्रकार सम्मेलनमा भने ।
भ्रमणका क्रममा सीले पुटिनसँग द्विपक्षीय सम्बन्धका साथै साझा चासोका प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा गहन विचार आदानप्रदान गर्ने, द्विपक्षीय रणनीतिक समन्वय र व्यावहारिक सहयोगलाई बढावा दिने र द्विपक्षीय सम्बन्धको विकासमा नयाँ गति प्रदानका लागि छलफल गर्नेछन् ।