सारांश
काठमाडौँ / प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनीतिक दलले बिहीबार मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न पाउने भएका छन् । निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था छ । दल तथा उम्मेदवारले चुनाव प्रचार कात्तिक १७ मा सुरु गरेका थिए ।
निर्वाचन आचारसंहिताअनुसार बिहीबार मध्यरातदेखि सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट, सेयर गर्न पाइने छैन ।
प्रतिनिधिसभाका १ सय ६५ सिटमा २ हजार ४ सय १२ र सातै प्रदेशका ३ सय ३० सिटका लागि ३ हजार २ सय २३ उम्मेदवार छन् । १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताका लागि आयोगले १० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र तोकेको छ । सम्बन्धित कर्मचारीलाई बिहीबारसम्म मतदान केन्द्रमा पुगिसक्न आयोगले निर्देशन दिएको छ । आयोगका अनुसार निर्वाचनमा २ लाख ४७ हजार कर्मचारी खटिनेछन् ।