Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

फ्लाई दुबईको जहाजमा यस्तो भएको रहेछ


सारांश

फ्लाई दुबईको जहाजमा यस्तो भएको रहेछ
images

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि सोमबार राति उडेको फ्लाई दुबईको जहाज उडान भरेलगत्तै उक्त जहाजको इन्जिनमा ठूलो आवाजसहित आगोको झिल्को देखियो । विमान चालक (पाइलट)ले धादिङको धार्केमाथिको आकाशमा करिब २१ हजार फिट उचाइमा झन्डै ११ मिनेट जहाज ‘होल्ड’ गरेर इन्जिनको ‘कन्डिसन’ जाँच गरे । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार जहाजको इन्जिनमा खराबी आएपछि आकस्मिक अवतरणको तयारी गरिएको थियो । राति ९ः२० मिनेटदेखि ९ः५९ सम्म विमानस्थमा अरू जहाजको उडान रोकेर अवतरणको तयार गरिएको थियो । विमानस्थलमा दमकल, ‘लोकल स्ट्यान्डबाई’ गरियो । यो भनेको कुनै जहाजले खराबी देखिए इमर्जेन्सी भनी घोषणा गरेपछि आकिस्मक अवतरणका लागि गरिने अभ्यास र तैनाथ संयन्त्र हुन् ।

काठमाडौंमा किन जहाज अवतरण गरिएन ? भनी सोधिएको जिज्ञासामा प्राधिकरणका सहायक प्रवक्ता भुलले जहाजको सबै पार्टपुर्जा जाँच गर्दा ठिक रहेको र गन्तव्यमा पुग्छ भन्ने पाइलटले निर्णय लिएपछि त्यतातिर लागेको बताए । उनले भने, “पाइलटको निर्णय नै अन्तिम निर्णय हुन्छ । युनाइटेड अरब इमिरेट्स (यूएई) मा जहाज दर्ता भएकाले उतै अवतरण गर्ने निर्णय भएको हुनसक्छ । दुवै देशमा उडान गर्ने जहाज हो । समस्या आएन भने दुबईमा नै जहाज अवतरण हुन्छ ।”

नेपालमा अवतरण भएको भए यहाँ प्राविधिक समिति गठन गरेर अनुसन्धान गर्नुपर्ने हुन्थ्यो । तर, दुबईमै अवतरण भएकाले त्यहाँको सिभिल एभिएसन अथोरिटीले प्राविधिक समिति बनाएर जहाजको अनुसन्धान गर्ने प्राधिकरणले जनाएको छ ।

जहाजमा आगो लागेको इन्जिन बन्द गरिन्छ । सिंगल इन्जिनमा जहाज उड्छ । तर, गति कम हुन्छ । गन्तव्यमा पुग्न दोब्बर समय लाग्ने सहायक प्रवक्ता भुलले जानकारी दिए । उक्त जहाजमा १६७ यात्रु सवार रहेको विमानस्थलले जनाएको छ ।

 
 

 

 

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij