सारांश
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम जेठ ३ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने तयारी भइरहेको छ । संविधानतः जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रीले अनिवार्य पेस गर्नुपर्ने प्रावधान छ ।
कार्यतालिका अनुसार यही जेठ १० गते सरकारले बजेटको खर्च (व्यय) को अनुमान र खर्च शीर्षकगत अनुमानको अन्तिम मस्यौदा तयार पार्नेछ । यसपछि जेठ १२ गते खर्च र शीर्षकगत अनुमानको किताब छपाई गरिनेछ ।
जेठ १३ गते बजेट वक्तव्य, आर्थिक र विनियोजन विधेयकलाई अन्तिम रूप दिने गरी कार्यतालिका तय गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
जेठ १४ गते राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषदमा बजेटको बिफ्रिङ हुनेछ भने सोही दिन बजेटसम्बन्धी विधेयक छपाइका लागि प्रेसमा पठाइने छ । अन्त्यमा, जेठ १५ गते अर्थमन्त्रीले संघीय सभाको दुईवटै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्नेछन् ।