सारांश
काठमाडौं । एकदिवसीय विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासरत नेपाली क्रिकेट टिम स्कटल्यान्डसँग सात विकेटले पराजित भएको छ ।
बिहीबार दक्षिण अफ्रिकाको टक्स ओभलमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १३६ रनको लक्ष्य स्कटल्यान्डले २९ ओभरमा तीन विकेट गुमाएर भेटायो ।
नेपालले अब शनिबार दोस्रो नेदरल्यान्ड्ससंग दोस्रो अभ्यास खेल खेल्नेछ । दक्षिण अफ्रिकामा १० दिनको तयारीपछि नेपाली टिम विश्वकप छनोटका लागि जिम्बाब्वे प्रस्थान गर्ने छ । विश्वकप छनोटको समूह ‘ए’मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बाब्वेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ ।
यस्तै, जुन २० मा नेपालले अमेरिकासँग, जुन २२ मा वेस्ट इन्डिजसँग र जुन २४ मा नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्ने छ ।
नेपालले छनोटअघि जिम्बाब्वेमै दुई ‘वार्म अप म्याच’ पनि खेल्ने छ । नेपालले पहिलो वार्म अप म्याचमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग जुन १३ मा र दोस्रो खेल जुन १५ मा ओमानविरुद्ध खेल्ने छ ।