सारांश
काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले प्रस्ताव गरेको ‘हाइब्रिड मोडेल’ स्वीकृत भएसँगै एसीसी एसिया कपको मिति सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक भएको मितिअनुसार प्रतियोगिता ३१ अगस्टदेखि पाकिस्तानमा सुरु भएर १७ सेप्टेम्बरमा श्रीलंकामा सम्पन्न हुनेछ ।
पीसीबीले प्रस्ताव गरेको ‘हाइब्रिड मोडेल’ प्रस्तावमा एसीसीसँगै सहभागी राष्ट्रका क्रिकेट बोर्ड सहमत भएपछि प्रतियोगिताको चार खेल पाकिस्तानमा हुने निश्चित बनेको हो । यी चार खेलबाहेक सबै खेलहरु श्रीलंकमा हुनेछ । प्रतियोगिताको समूह चरणका समान एकखेलका लागि नेपाल, बंगलादेश, श्रीलंका र अफगानिस्तानले पाकिस्तानको भ्रमण गर्नेछन् । प्रतियोगितामा भारतले पाकिस्तानको भ्रमण गर्नेछैन । भारतको सबै खेल श्रीलंकामा नै हुनेछ ।
प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । पहिलो पटक एसिया कप खेल्न लागेको नेपाल एसीसी प्रिमियर कप च्याम्पियनको हैसियतमा प्रतियोगितामा छनोट भएको हो ।