सारांश
काठमाडौं । कोसी प्रदेश सरकारले अध्यादेशमार्फत आर्थिक वर्ष २०८०/०८१ का बजेट ल्याएको छ । क्षेत्रगत नीति तथा कार्यक्रमहरू कार्यान्वयनको लागि बजेट विनियोजन र स्रोत व्यवस्थापनको लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट ल्याइएको छ ।
चालु खर्चतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगत खर्चतर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार रुपैयाँ विनियोजन भएको छ । वित्तीय व्यवस्थापनतर्फ एक करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ६० करोड २९ लाख रुपैयाँ छुट्याइएको छ ।
ससर्त अनुदानबाट पाँच अर्ब ८४ करोड ३२ लाख, समपुरकबाट ७३ करोड र विशेष अनुदान ७६ करोड गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३२ अर्ब ३४ करोड खर्च बेहोरिने बजेटमा जनाइएको छ । बाँकी अपुग रकम नगद मौजदातबाट तीन अर्ब ७५ करोड एक लाख र वैदेशिक अनुदानबाट १५ करोड बेहोरिने बजेटमा उल्लेख छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले मन्त्रिपरिषद्को सिफारिसमा कोसी प्रदेश आर्थिक अध्यादेश र कोसी प्रदेश विनियोजन अध्यादेश विहीबार जारी गरेका छन् । नेकपा (माओवादी केन्द्र) र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि चालु बजेट अधिवेशन बुधबार राति अन्त्य गरी सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।