सारांश
काठमाडौं । निर्माणाधीन संघीय संसद भवनको इन्टेरियरका लागि २ अर्ब ३४ करोड ५४ लाख ९० हजार रुपैयाँको ठेक्का लगाउने भएको छ । केसी/श्याम सुन्दर/बानियाँ जेभीले संसद भवनको इन्टेरियरसहित कन्फ्रेन्स र सेक्युरिटी सिस्टमको ठेक्का पाउन लागेको हो ।
गत पुसमा भएको बोलपत्रअनुसार संयुक्त उपक्रमको कम्पनीले संसद भवनको इन्टेरियर सजाउने गर्नेदेखि टेबल, कुर्सी, सोफासहितका फर्निचर तथा अडियो/भिडियो र सेक्युरिटी सिस्टम जोड्ने ठेक्का पाएका हुन् ।
यसअघि भवन मात्रै बनाउने गरी ठेक्का लागेको थियो । इन्टेरियरको काम सक्न करिब एक वर्ष र अन्य सिस्टम जडानको काम सक्न करिब ६ महिनाजति समय लाग्ने अनुमान छ । तर, भवन नै तयार नभएकाले इन्टेरियरको काम सुरु गरिहाल्न समेत समस्या छ ।
१ असोज २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनको शिलान्याश गरेका थिए । पछिल्लो पटक थपिएको म्याद अनुसार आगामी असारसम्म संसद भवन निर्माणको काम सकिनुपर्ने हो ।