सारांश
काठमाडौ । तीव्र गतिका बलर करण केसीको उत्कृष्ट बलिङ र भीम सार्कीको अर्धशतकमा नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकामाथि ६ विकेटको सहज जित हात पारेको छ । यो जितसँगै नेपालले पहिलो जितका साथ शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।
जितको लागि २ सय ८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा भीम सार्की १ सय १४ बलमा ७ चौका र १ छक्कासहित ७७ रनमा नट आउट रहे ।
त्यसअघि जिम्बावेका ताकशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अल आउट भएको थियो । अमेरिकाका सातौं नम्बरका विकेटकिपर शायन जाहांगिरले ७९ बलमा १० चौका र ३ छक्कासहित १ सय रनको सानदार शतकीय इनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन ।
नेपालका करण केसीले ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । गुलशन झाले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ५ ओभरमा १५ रन खर्चेर २ विकेट लिए ।
ललित राजवंशीले १० ओभरमा २० रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ५८ रन खर्चिदा विकेट लिन सकेनन् । सन्दीप पहिलो पटक लगातार दोस्रो ओडिआई खेलमा विकेट विहीन बनेका हुन् । सन्दीपले जिम्बावेविरुद्ध १० ओभरमा ७७ रन खर्चेर विकेट लिन सकेका थिएनन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । नेपालले आफ्नो तेस्रो खेल बिहीबार वेस्टइन्डिज र अन्तिम खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।