Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

साफ च्याम्पियनसिप : पहिलो खेलमै कुवेतसँग हार्‍यो नेपाल


सारांश

साफ च्याम्पियनसिप : पहिलो खेलमै कुवेतसँग हार्‍यो नेपाल
images

काठमाडौं । भारतमा सुरु भएको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल कुवेतसित पराजित भएको छ । आमन्त्रित टिमको रुपमा साफ च्याम्पियनसिपमा पहिलो पटक सहभागी कुवेतसँग नेपाल ३-१ ले पराजित भएको  हो ।

बेंलुरुस्थित श्री कान्तिरवा स्टेडियममा भएको खेलमा कुवेतलाई जिताउन मोहम्मद अब्दुल्लाहले एक गोल र एक असिस्ट गरे । खालिद हाजिएह र शबईब अलखल्दीले पनि गोल गरे । नेपालका लागि अन्जन विष्टले एक गोल फर्काए ।

पहिलो हाफमा नेपालले आफ्नै गल्तीमा गोल खाँदा खेलमा फर्कन कठिन भएको थियो । कुवेतले पहिलो हाफमा नेपालमाथि दबाब राख्दै दुई गोल गर्‍यो । २३ मिनेटमा कप्तान खालिद हाजिएहले हेड मार्फत गोल गर्दै कुवेतलाई अग्रता दिलाए । ३६ मिनेटमा कुवेतले अग्रता दोब्बर पार्ने अवसर गुमायो । कुवेतका फवाज अलोतावीको पासमा मोहम्मद अब्दुल्लाहको हेड प्रहार बारमा लागेर फर्कँदा अग्रता बढाउने अवसर गुमायो ।

अधिकांश समय नेपालको हाफमा बल खेलाएको कुवेतले ४१औं मिनेटमा दोस्रो गोल गर्‍यो । मोहम्मद अब्दुल्लाहको पासमा शबईब अलखल्दीले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाए । ६५ मिनेटमा कुवेतले तेस्रो गोल गर्‍यो ।

सन् १९८२ मा नेपालले एसियन गेम्समा कुवेत विरुद्ध पहिलो पटक गोल गरेको थियो । उक्त खेलमा नेपाल ३-१ ले पराजित हुँदा वाईबी घलेले एक गोल गरेका थिए । जुन नेपाली फुटबल इतिहासकै पहिलो अन्तर्राष्ट्रिय गोल थियो । साफ च्याम्पियनसिपमा समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा अब शनिबार घरेलु टोली भारतसँग खेल्नेछ ।  

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij