सारांश
काठमाडौं । नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ । भारतसँग हारको श्रृंखलाले लगातार चौथो खेलसम्म निरन्तरता पाउँदा नेपाल १४ औं संस्करणको साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको हो ।
भारतसँग २-० को नतिजामा पराजित भएपछि साविक उपविजेता नेपालले एक खेलअघि नै समूह चरणबाट बाहिरिएको हो । भारतको जितमा ६१ औं मिनेटमा सुनिल क्षेत्री र ७० औं मिनेटमा महेश सिंह नाओरेमले गोल गरे । ६१ औं मिनेटमा साहल अब्दुल सामदको क्रसमा सुनिलले ट्याप इन गोल गरे । भारतका लागि उनको यो ९१औं अन्तर्राष्ट्रिय गोल हो भने जारी साफमा चौथो गोल हो ।
७० औं मिनेटमा सुनिल क्षेत्रीको प्रहार नेपालका गोलकिपर किरणकुमार लिम्बुले पूर्ण रुपमा बचाउन नसक्दा बारमा लागेर बाउन्स भएको थियो । त्यसैमा नेपाली डिफेण्डरले क्लियर गर्न नसकेको बलमा महेश सिंह नओरेमले हेडमार्फत गोल गर्दै भारतको अग्रता दोब्बर पारे ।
त्यसपछि नेपालले खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन र पराजित भयो । साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतसँग अहिलेसम्म खेलेका ९ मध्ये ८ खेलमा पराजय ब्यहोरेको छ ।
सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा मात्र नेपालले भारतलाई हराएको थियो । त्यसयता भएका साफ च्याम्पियनसिप र अन्य प्रतियोगिता गरी कुल ११ खेलमा नेपाल भारतसँग जितविहीन छ ।