काठमाडौं । एसीसी पुरुष यू—१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपालले मलेसियालाई ८४ रनको फराकिलो अन्तरले हराएको छ ।
जितसँगै नेपाली टोली समूह ‘ए’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । समूहगत चरणको अन्तिम खेलमा नेपालसँग पराजित भएको घरेलु टोली मलेसिया भने उपविजेताका रुपमा सेमिफाइनलमा पुग्यो । नेपालले समूहगत चरणको दुबै खेलमा जित हासिल गर्यो ।
शुक्रबारको खेलमा टस जिती पहिलो ब्याटिङ रोजेको नेपालले ३३.४ ओभरमा अलआउट हुनुअघि एक सय ८३ बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने ३०.५ ओभरमै अलआउट हुनुअघि ९९ रनमात्र बनाउन सक्यो । प्रतियोगिता मलेसियामा आयोजना भइरहेको छ । नेपालको जितमा बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए ।