सारांश
काठमाडौं । नेपाली सेनामा उसु प्रशिक्षक भएर खेलकुद क्षेत्रमा अतुलनीय योगदान गर्दै आएका प्रशिक्षक राजिव महर्जन सम्मानित भएका छन् । उनलाई एक कार्यक्रमकाबीच प्रधान सेनापति प्रभुराम शर्माले प्रशंसा पदकबाट सम्मान गरेका हुन् ।
नेपाली खेलकुदको मेरुदण्डको रुपमा रहेको नेपाली सेनाको खेलकुदलाई अघि बढाउन एक कुशल प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका महर्जलाई नेपाली सेनाले उनको कामको कदर गर्दै यस पदकबाट विभूषित गरेको हो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उसु खेलमा सेनालाई टिम च्याम्पियन बनाउन सफल प्रशिक्षक महर्जनले यस अगाडि पनि सेनालाई धेरै पटक टिम च्याम्पियन बनाएका थिए ।
खेलाडी जीवनको सन्यास पछि प्रशिक्षणमा लागेका अन्तर्राष्ट्रिय पदक विजेता महर्जनले नेपाली सेनाको उसु टिम सम्हालेको छोटो समयमै उत्कृष्ट नतिजा दिँदै आएका छन् । नेपाली सेनाका खेलाडीहरुले उनकै प्रशिक्षणमा राष्ट्रिय च्याम्पियनमात्र नभई दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न पदक हात पार्न सफल भएका छन् ।