सारांश
काठमाडौं ।मलेसियाविरुद्ध २२१ रनको फराकिलो जित निकाल्दै नेपाल एसीसी मेन्स यू–१६ इस्ट जोन कपको च्याम्पियन बनेको छ ।
मंगलबार मलेसियाको बायुइमास ओभलमा नेपालले प्रस्तुत गरेको २५३ रनको लक्ष्य पछ्याउने क्रममा घरेलु टिम १४.५ ओभरमा ३१ रनमै समेटियो ।
मलेसियालाई सस्तैमा समेट्न घातक बलिङ गरेका अभिषेकले पाँच विकेट लिए । ६ ओभर बलिङ गरेका अभिषेकले एक मेडन राख्दै सात रन मात्र खर्चिए । सन्तोष यादवले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका सन्तोषले दुई मेडन राख्दै नौ रन खर्चिए । सागर गैरे र अशोक धामीले समान एक विकेट लिए ।
नेपालले सेमिफाइनलमा सिंगापुरलाई हराएको थियो । त्यसअघि, समूह ‘ए’को विजेता बन्दै नेपालले अन्तिम चारमा स्थान बनाएको थियो ।