सारांश
काठमाडौं । पाकिस्तान र श्रीलंकामा हुने एसिसी एकदिवसीय एसिया कप खेल्न १७ सदस्यीय नेपाली टोली जाने भएका छन् ।
एसिया कपमा सबै टोलीले १७ खेलाडी पठाउने भएका छन् । त्यसैको कारण नेपालको पनि १७ सदस्य टोली पठाउने भएको छ । नेपालले एसिया कप खेल्ने अन्तिम टोली टुङ्गो लगाई सकेको छ । तर सार्वजनिक रुपमा घोषणा भने गरेका छैन ।
‘हामी पाकिस्तान कहिले जाने अझै टुङ्गो लागेको छैन । कुराकानी भई राखेको छ । टिममा १७ जना जाने हो । हामी नाम एक दुई दिनमा सार्वजनिक गछौं होला’, क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले भने ।
एसिया कप अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ए मा भारत, पाकिस्तान र नेपाल छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । पाकिस्तान र बंगलादेशले पनि १७ सदस्य टोली घोषणा गरेका छन् । यसअघि आइसिसी र एसिसीको प्रतियोगितामा एक टोलीमा १५ खेलाडी हुने गर्दथ्यो ।
नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको कान्डीमा भारतसँग खेल्ने हुनेछ । नेपाल शीर्ष दुईमा पर्न सके सुपर फोरमा पुग्नेछ । नेपालले पहिलो पटक एसिया कप खेल्दैछ ।