सारांश
काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ र उनकी आमाको उमेर यकिन गर्न आदेश जारी गरेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलाशले पीडित पक्षले पेस गरेका कागजात र विपक्षी लामिछानेका पक्षले पेस गरेको कागजातमा उमेर फरक परेको देखिएपछि आमासहितको उमेर यकिन गर्ने आदेश जारी गरेको हो ।
जाहेरीवालातर्फकी वकिल वरिष्ठ अधिवक्ता सुनिता रेग्मीले गौशाला २६ र आमाको उमेर नौ वर्ष मात्र फरक देखिने गरी कागज पेस गरेपछि त्यसको यकिन का लागि गौशाला–२६ र उनकी आमाको उमेर यकिन गर्ने आदेश भएको जानकारी दिइन् ।
पीडित गौशाला–२६ का तर्फबाट पेस भएको कागजातमा उनको उमेर ०६२ जेठ उल्लेख भए पनि सन्दिप पक्षले ०६१ जेठ जन्ममिति भएको कागजात पेस गरेको छ ।यस्तै, बसाइँसराइसम्बन्धी कागजमा गौशाला–२६ की आमाको जन्ममिति २०५३ साल देखिएको छ । उल्लिखित उमेरअनुसार आमा–छोरीको उमेर १० वर्ष मात्रै फरक देखिएपछि वडामार्फत उमेर यकिन गर्ने आदेश भएको हो ।