Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एसिया कप आजदेखि : पहिलो वरीयताको पाकिस्तानसँग खेल्दै नेपाल


सारांश

एसिया कप आजदेखि : पहिलो वरीयताको पाकिस्तानसँग खेल्दै नेपाल
images

काठमाडौं । एसिया कप–२०२३ को उद्घाटन खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज एकदिवसीय वरीयताकै शीर्ष स्थानको पाकिस्तानविरुद्ध चुनौती प्रस्तुत गर्दै छ । 

एसिया कपमा ‘डेब्यू’ गर्न लागेको नेपाली टिमले सन् १९९२ को विश्वकप विजेतासमेत रहेको पाकिस्तानविरुद्ध पनि पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेको हो । एकदिवसीय वरीयताको १५औँ स्थानमा रहेको नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक शीर्ष स्थानमा रहेको टिमविरुद्ध खेल्दै छ । आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्ने छ ।

“नेपालमा हामीबाट ठूलो अपेक्षा छ । सबै नेपालीले यो एसिया कपका बारेमा सपना देखिरहेका छन् । हामी दुई दशकदेखि क्रिकेट खेलिरहेका छौँ । र, एसिया कपजस्तो उच्चस्तरमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु ठूलो कुरा हो,” प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले भनेका थिए ।

पाकिस्तानी टिमको कप्तानी सम्हालिरहेको बाबर आजम एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानका ब्याटर हुन् । नेपालविरुद्धको खेलका लागि पाकिस्तानले आफ्नो 'प्लेइङ–११' सार्वजनिक गरिसकेको छ । जसमा बाबरबाहेक इमाम उल हक (तेस्रो) र फकर जमान (पाँचौँ) गरी एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष १० भित्र रहेका दुई ब्याटर छन् । बलिङतर्फ साहिनसाह अफ्रिदी एकदिवसीय बलिङ वरीयताको नवौँ स्थानमा छ ।

नेपालले पहिलोपटक एसिया कप खेल्दै गर्दा पाकिस्तान भने १५ वर्षपछि क्रिकेटको कुनै ठूलो प्रतियोगिताको आयोजक बन्दै छ । यसैकारण सफल आयोजकमा नाम लेखाउने दौडमा रहेको पाकिस्तानका लागि पनि यो खेल निक्कै महत्त्वपूर्ण छ । नेपाल र पाकिस्तानबीचको यो ऐतिहासिक खेल मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुँदै छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij