सारांश
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले नेपाली क्रिकेटको स्तरोन्नतिका लागि रंगशाला बनाउन आवश्यक रहेको भन्दै यसका लागि पहल गर्न महानगर तयार रहेको बताएका छन् ।
उनले सरकारले काठमाडौं महानगरपालिका वा आसपासमा एक सय रोपनी जग्गा उपलब्ध गराएमा क्रिकेट रंगशाला निर्माणमा काठमाडौं महानगरले पहल गर्ने बताएका हुन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमा एक भिडियोसहितको पोस्ट गर्दै उनले लेखेका छन्, “फ्यानको रूपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा श्रीलंकाको अध्यागमनको कर्मचारीको प्रश्न थियो, ‘यति धेरै नेपालीहरू एक्कासि श्रीलंका किन आइरहेका छन् ?’ श्रीलंकाको अध्यागमन चकित पर्ने गरीको संख्यामा नेपालीहरू त्यहाँ पुग्दै थिए ।”
उनका अनुसार सो खेल भएको रंगशालामा ४०–५० जति भारतीय क्रिकेट समर्थक थिए । नेपालीको संख्या १५ सयदेखि दुई हजारको बीचमा थियो ।
“स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०–५० जनाजति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरूको संख्या १५०० देखि २००० को बीचमा थियो । नेपाली क्रिकेट फ्यानहरू विभिन्न देशबाट श्रीलंका पुगेका थिए,” उनले फेसबुकमा लेखेका छन्, “अनुमानित हिसाब गर्ने हो भने त्यहाँ पुगेका सबै नेपालीहरूको मात्रै खर्च ३० करोड पुग्यो होला ।”