सारांश
काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ । आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यका साथ निर्माणको कामलाई तीव्रता दिइएको नेपाल आयल निगमले जनाएको छ ।
दोस्रो चरणको कामअन्तर्गत अहिले पेट्रोल भण्डारण ट्याङ्क, ट्रान्समिक्स ट्याङ्क, पम्प हाउस, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे (रिफिलर) लगायत भौतिक संरचनाको निर्माण भइरहेको छ । अहिले ‘म्यानुअल’रुपमा पेट्रोलियम पदार्थको लोडिङ हुँदै आएको छ । दोस्रो चरणको परियोजनाको निर्माण भारतीय कम्पनी लिखिता इन्टरनेशनलले गरिरहेको छ ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना हो । यसको कूल लम्बाइ ६९.२ किलोमिटर छ । त्यसमध्ये ३३ किलोमिटर भारत र ३६ दशमलव २ किलोमिटर नेपाली भूमिमा पर्छ । पाइपलाइनको क्षमता वार्षिक करिब २५ लाख किलोलिटर रहेको छ ।
सन् २०१५ मा नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन निर्माणका लागि सम्झौता भएको थियो । सन् २०१८ मा नेपाल र भारतको प्राधनमन्त्रीले संयुक्तरुपमा परियोजनाको शिलान्यास गरेका थिए ।