सारांश
एजेन्सी। फाइनलमा घरेलु टिम श्रीलंकालाई १० विकेटले हराउँदै एसिया कप–२०२३ को उपाधि भारतले जितेको छ । भारतले आठौँपटक एसिया कपको उपाधि जितेको हो ।
यसअघि भारतले पछिल्लोपटक सन् २०१८ मा एसिया कपको उपाधि जितेको थियो । प्रेमादसा रंगशालामा सम्पन्न खेलमा श्रीलंकाले प्रस्तुत गरेको ५१ रनको सामान्य लक्ष्य भारतले ६.१ ओभरमा विकेट नगुमाई पूरा गर्यो ।
मोहम्मद सिराजले एकदिवसीय अन्तर्राष्ट्रिय करियरकै उत्कृष्ट बलिङ गरेपछि टस जितेर ब्याटिङमा आएको घरेलु टिम १५.२ ओभरमा ५० रनमै समेटिएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाले बनाएको यो अहिलेसम्मकै दोस्रो सबैभन्दा कम योगफल हो ।
यसअघि सन् २०१२ मा दक्षिण अफ्रिकाविरुद्धको खेलमा श्रीलंका ४३ रनमा अल आउट भएको थियो । यस्तै, एसिया कपको फाइनलमा बनेको यो अहिलेसम्मकै सबैभन्दा सानो योगफल हो ।