काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप–२०२३ को तयारी पुरा भएको छ ।
मङ्गलवार आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो ।
दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार तय भएको प्रतियोगिता असोज ४ देखि १३ गतेसम्म दशरथ रङ्गशालामा चल्नेछ । सो प्रतियोगिताका लागि नेपाली राष्ट्रिय यु–१९ टोली प्रशिक्षक सुनिल श्रेष्ठको प्रशिक्षणमा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिताका लागि सहभागी राष्ट्रहरू आउने क्रम जारी एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । उनका अनुसार भुटान, भारत, माल्दिभ्स र बंगलादेशको टोली आज आउने तालिका रहेको छ भने पाकिस्तानको टोली आइपुग्नेछ ।
सहभागी टोलीका लागि नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासलस्थित खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ । एन्फाका अनुसार प्रतियोगिताको अनुमानित बजेट २ करोड ७७ लाख ३२ हजार ८०० रुपैयाँ रहेको छ ।