सारांश
काठमाडौं। यु-१९ साफ च्याम्पियनसिप आजबाट नेपालमा सुरु हुँदैछ। उमेर समूहको प्रतिष्ठित फुटबल प्रतियोगितामा ६ देशलाई दुई समूहमा विभाजन गरेर लिगकम नकआउटका आधारमा प्रतियोगिता आयोजना गरिएको छ।
दुई पटकको च्याम्पियन नेपाल पछिल्लो समय खस्किँदो उमेर समूहमा आफूलाई पुन: बलियो देखाउँदै उपाधि होडमा फर्कने प्रयासमा रहेको छ।
नेपालले समूह ‘ए’ अन्तर्गत माल्दिभ्स र पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। त्यस्तै, समूह ‘बी’ मा भने भारत, बंगलादेश र भुटान रहेका छन्।
प्रतियोगिताको पहिलो खेलमा आज दिउँसो १:३० मा डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेश भिड्ने छन्। नेपालले भने साँझ ५:३० मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ।
यु-१९ को उमेर समूहको पहिलो प्रतियोगिता सन् २०१५ मा नेपालमा नै भएको थियो। पहिलो संस्करणमा भारतलाई टाइब्रेकरमा हराएर च्याम्पियन बनेको नेपालले दुई वर्षपछि भुटानको थिम्पुमा आयोजना भएको प्रतियोगितामा उपाधि रक्षा गरेको थियो।