सारांश
काठमाडौं । एसियाडमा दुई खेल संघका अध्यक्षले आफ्नो नाम आफैँले सिफारिस गरेर हाङझाउ गएकाे पाइएको छ। यी दुवै पदाधिकारी निर्णायकको कोटामा एसियाडमा गएका हुन्।
खेलको निर्णायक बन्न एसियाडको आयोजकले ओलम्पिक काउन्सिल एसिया (ओसिए)लाई जिम्मा दिएको छ। ओसिएले खेल संघलाई नै अफिसियल छान्ने अधिकार दिएको छ। नेपालमा हक्की र बुद्धिचालका अध्यक्षले प्रतियोगितामा आफ्नै नाम सिफारिस गरेका हुन्।
बुद्धिचालका अध्यक्ष गौतम कसरी चीन पुगे भन्ने सम्बन्धमा यस खेलका पदाधिकारी नै अचम्ममा परेका छन्। आर्थिक समस्याका कारण बुद्धिचाल संघले एसियाडका खेलाडी पठाएको छैन।
अझ ओलम्पियन दीपक बिष्ट गल्फको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ उसुको व्यवस्थापक बनेर चीन गएपछि चर्को आलोचना भइरहेको छ। बिष्ट तेक्वान्दो प्रशिक्षक हुन् भने श्रेष्ठ कराते प्रशिक्षक हुन्। दुबै जना साग गेम्सका कीर्तिमानी स्वर्ण विजेतासमेत हुन्।