सारांश
काठमाडौं। चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा नेपालले आज विभिन्न ६ खेलमा प्रतिस्पर्धा गर्दै छ।
अधिकांस खेलमा लगातार हार भोग्दै प्रतियोगिताबाट बाहिरिएको नेपालले महिला भलिबलमा आज बिहान दक्षिण कोरियाको सामना गर्ने छ। पहिलो खेलमा नेपाल भियतनामसँग सोझो सेटमा पराजित भएको नेपाल अघिल्लो चरण प्रवेशका लागि दक्षिण कोरियालाई हराउनु पर्ने दबाबमा मैदान उत्रिँदै छ।
कबड्डीमा पनि आज बिहान नै नेपाल बंगलादेशसँग भिड्दै छ। त्यस्तै, आर्चरी, स्क्वास, एथ्लेटिक्स र ब्याडमिन्टनमा नेपालले आफ्नो चुनौती आज प्रस्तुत गर्दैछ।
नेपालले प्रतियोगिताको लागि २९ खेलका दुई सय ५३ खेलाडी चीन पुगेका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कमजोर तयारीले नेपालको अन्तर्राष्ट्रिय एरेनामा लज्जास्पद हार भइरहेको छ।
एसियाडमा आयोजक चीन एक सय ३३ स्वर्णसहित २ सय ४४ पदकका साथ शीर्ष स्थानमा रहँदा कोरिया ३० स्वर्णसहित १ सय २५ पदकका साथ दोस्रो र जापान २९ स्वर्णसहित १ सय १२ पदकका साथ तेस्रो स्थानमा छ। प्रतियोगिताको नवौं दिनसम्म नेपाल निरीह रहँदा थौरै पदकविहीन देशको सूचीमा रहेको छ।