सारांश
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करणआजदेखि सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता इङ्गल्यान्ड र साबिक उपविजेता न्युजिल्यान्डबीच हुनेछ । उद्घाटन खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलाइने छ ।
प्रतियोगिताको उद्घाटन खेल दिवा—रात्रि रूपमा खेलाइने छ । नरेन्द्र मोदी स्टेडियम विश्वकै सबैभन्दा ठुलो क्रिकेट रंगशालामध्येको एक हो । त्यो रङ्गशालाको दर्शक क्षमता एक लाख ३० हजार रहेको छ ।
यस पटक विश्वकपमा आयोजक भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, अस्ट्रेलिया, इङ्गल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, नेदरल्यान्ड्सको सहभागिता रहने छ । इङ्गल्यान्ड, अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलङ्का र न्युजिल्यान्ड एकदिवसीय विश्वकपको १३ वटै संस्करणमा सहभागिता जनाउने राष्ट्र हुन् ।
यस पटक भारत, अस्ट्रेलिया, इङ्गल्यान्ड र न्युजिल्यान्डलाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ ।