Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

विश्वकप छनोट : अञ्जनको कीर्तिमानी गोलमा नेपाल र लाओस बराबर


सारांश

विश्वकप छनोट : अञ्जनको कीर्तिमानी गोलमा नेपाल र लाओस बराबर
images

काठमाडौं । अन्जन विष्टले कीर्तिमानी गोल सँगै नेपालले विश्वकप छनोट अन्तर्गत पहिलो चरणको पहिलो लेगमा लाओस विरुद्ध १–१ को बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि अन्जनले गोल गर्दा लाओसका लागि कप्तान बौनफाचन बौनकोङले गोल गरेका थिए । पहिलो हाफमा पछि पारेपछि नेपालले दोस्रो हाफको सुरुवातमा नै खेलमा बराबरी गरेको थियो ।

४८ औं मिनेटमा एरिक विष्टको कर्नरमा हेड मार्फत गोल गर्दै अन्जनले नेपाललाई खेलमा फर्काएका थिए । यो गोलसँगै उनले राष्ट्रिय पुरुष फुटबल टोलीबाट सर्वाधिक गोलको कीर्तिमानमा बराबरी गरेका छन् । उनले हरि खड्का र निराजन रायमाझीको १३ गोलको कीर्तिमानीसँग बराबरी गरेका हुन् । उनले आफ्नो ६० औं खेलमा कीर्तिमानी बराबरी गरेका हुन् । सन् २०१४ मा फिलिपिन्सविरुद्ध खेल्दै अन्जनले राष्ट्रिय डेब्यू गरेका थिए ।

लाओसका कप्तान बौनफाचन बौनकोङले खेलको ३३औं मिनेटमा अग्रता दिलाएका थिए । लाओसले आफ्नो पहिलो स्पष्ट मौकामा नै गोल गर्न सफल भएको थियो । मिडफिल्डमा आयुष घलानले मिसपास गरेपछि लाओस गोल गर्न सफल भएको हो । चोनी वेनपासर्थले दिएको पासमा बौनकोङले सुन्दर टच लिँदै नेपालका डिफेन्डरद्वय अनन्त तामाङ र रोहित चन्द सहित गोलकिपर किरण चेम्जोङलाई बिट गर्दै गोल गर्न सफल भएका थिए।

पहिलो चरणको विश्वकप छनोट दुई लेगको फर्म्याटमा खेलाइनेछ । एसियाली टोलीहरु मध्यको वरियतामा सबैभन्दा तल रहने २० टोली पहिलो चरण खेल्दै छन् । नेपाल र लाओस बीचको दोस्रो लेग असोज ३० गते लाओसमा हुने छ । दुई खेलमा अघि रहने टोली छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij