Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

यूएईलाई हराउँदै नेपाल टी-२० विश्वकपमा


सारांश

यूएईलाई हराउँदै नेपाल टी-२० विश्वकपमा
images

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध आठ विकेटको जित निकाल्दै नेपालले १० वर्षपछि विश्वकप खेल्ने भएको छ ।

घरेलु मैदानमा जारी छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप खेल्ने भएकाले नेपाल यो जितसँगै विश्वकपका लागि छनोट भएको हो । 

नेपालको जितमा ओपनर आसिफ शेखले अविजित ६३ रन बनाए । आसिफले ५० बलमा ६ चौका र दुई छक्का प्रहार गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो चौथो अर्धशतक हो । 

कप्तान रोहितकुमार पौडेलले ३५ रन जोडे । गुल्सन झाले २२ र अर्का ओपनर कुशल भुर्तेलले ११ रन थपे ।

यूएईका निलान्स केशवानी र बसिल अमिदले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रनको योगफल खडा गरेको थियो ।

यूएईका भ्रित्या अरविन्दले ६४ रन बनाए । उनले ५१ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । कप्तान मुहम्मद वसिमले १६ बलमा तीन चौका र दुई छक्कासहित २६ रन बनाए । आलिसान सराफुले १६ र आसिफ खानले १३ रन थपे । 

नेपालका कुशल मल्लले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका मल्लले ११ रन खर्चिए । सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामी र कप्तान पौडेल समान एक विकेट लिए ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनल आएका थिए । नेपालले अब छनोटको उपाधिका लागि ओमानसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij