सारांश
काठमाडौं । नेपाल कराते महासंघको आयोजनामा सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप मंसिर १६ गतेदेखि हुने भएको छ।
प्रतियोगितामा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल कराते महासंघका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव युवराज लामाले जानकारी गराए।
नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलंकाले दुई दिने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। प्रतिबन्धमा रहेकाले श्रीलंकाको भने एनओसी टिम सहभागी हुने जनाइएको छ।
क्याडेट, जुनियर, यु–२१ र सिनियरमा गरी ४ विधामा जम्मा ६२ स्वर्णका लागि प्रतिस्पर्धा हुने कराते महासंघका महासचिव दावा गुरुङले जानकारी दिए। क्याडेटमा १२, जुनियरमा १५, यु–२१ मा १६ र सिनियरमा १९ स्पर्धामा खेल हुनेछ।
जम्मा ३ सय ५३ खेलाडीको सहभागिता रहने जनाइएको छ। सबै स्पर्धामा भाग लिने नेपालबाट ६८ खेलाडीले चुनौती प्रस्तुत गर्ने छन्। नेपाली खेलाडीको प्रशिक्षणका लागि ६ प्रशिक्षक र २ व्यवस्थापकको व्यवस्था गरिएको छ। कुमुते टोली गोकर्णेश्वरस्थित शंखडोल कराते एकेडेमी तथा काता टोली बौद्ध डोजामा प्रशिक्षणरत छन्।