Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एकदिवसीय विश्वकप फाइनल आज : भारत र अस्ट्रेलिया भिड्दै


सारांश

एकदिवसीय विश्वकप फाइनल आज :  भारत र अस्ट्रेलिया भिड्दै
images

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका निम्ति आज (आइतबार) घरेलु टिम भारतलाई अस्ट्रेलियाले चुनौती प्रस्तुत गर्दै छ ।

विश्वकपको १३औँ संस्करण चलिरहँदा भारत चौथो पटक फाइनलमा प्रवेश गरेको हो । भारतले यसअघि सन् १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो । २००३ मा भने भारत फाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो ।

यता, अस्ट्रेलिया भने आठौँ पटक एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको सर्वाधिक सफल टिमसमेत रहेको अस्ट्रेलियाले हालसम्म पाँच पटक उपाधि जितेको छ । अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि जितेको थियो ।

 

फाइनलअघि अस्ट्रेलियाका कप्तान प्याट कुमिन्सले आफ्नो टिम भारतको ठूलो दर्शकलाई घरमै मौन बनाउने लक्ष्यमा रहेका बताएका थिए ।

यस्तै, भारतका कप्तान रोहित शर्माले फाइनललाई लिएर आफ्नो टिम धेरै उत्साहित र ठूलो दबाबमा नरहेको बताए ।

फाइनल प्रवेशका क्रममा सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएका थिए । भारत जारी प्रतियोगिताको एकमात्र अपराजित टिम हो ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो २:१५ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij