सारांश
काठमाडौं । आइसिसी टि२० विश्वकप २०२४ मा सहभागिता जनाउने सबै २० टोलीको नै टुङ्गो लागेको छ । अफ्रिका छनोटबाट नामिबिया र युगान्डा छनोट भएसँगै विश्वकप खेल्ने सबै टोलीको टुङ्गो लागेको हो ।
विश्वकप आगामी २०२४ जुन ४ देखी ३० सम्म अमेरिका र वेस्टइन्डिज संयुक्त रुपमा आयोजना गर्नेछन् । उक्त विश्वकपमा नेपालसँगै अमेरिका, वेस्टइन्डिज, अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी, क्यानडा, ओमान, नामिबिया र युगान्डाले विश्वकप खेल्नेछन् ।
यसअघि टि२० विश्वकपमा १६ टोलीले खेल्दै आएका थिए । तर आइसिसीले चार टोलीको सङ्ख्या थप्दै २० पुर्याएको थियो ।नेपालले कोसँग खेल्छ समूह विभाजनपछि मात्रै थाहा हुनेछ । आइसिसीले हालसम्म समूह विभाजन गरेको छैन । २० टोलीलाई चार समूहमा विभाजन गर्नेछ । हरेक समूहमा पाँच टोली हुनेछन् ।
समूहमा एक टोलीले चार खेल खेल्न पाउनेछन् । जसबाट शीर्ष दुई टोलीले सुपर ८ मा स्थान बनाउनेछन् । सुपर ८ मा दुई समूहमा विभाजन गरिनेछ । शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।