काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले यू–१९ क्रिकेट टिमका खेलाडीहरुले पूर्वघोषित पुरस्कार रकम दुई दिनमै पाउने बताएका छन् ।
यू–१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ कार्यक्रममा खेलाडीहरुलाई शुभकामना दिने क्रममा मन्त्री लिम्बुले पुरस्कार रकम दुई दिनमै खेलाडीहरुको बैक खातामा पठाइने बताए । उनका अनुसार यसै कार्यक्रममा नै हस्तान्तरण गर्न सकिन्छ कि भनेर प्रयास भएको थियो । तर विभिन्न कारणले सम्भव नभएको भन्दै मन्त्री लिम्बुले भने, ‘अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छ । २ दिनभित्र खेलाडीहरुको खातामा पैसा आउँछ । उच्च मनोबलका साथ जानुस् ।’
यू–१९ विश्वकपमा छनोट भएपछि सरकारले टोलीका सदस्यलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।
यस्तो थियोः मन्त्री लिम्बुको सम्बोधन
पुरस्कारको कुराले पहिले त निकै सकस बनाएको थियो । अहिले त्यस्तो अवस्था छैन । मन्त्रालयमा सानो काम बाँकी छ । पैसा आइसकेको छ । अर्थले स्वीकृति दिइसकेको छ । विगतमा अलिकति जटिलता थियो । त्यो सबै गाँठो फुकाएर अब सजिलो बनाइएको छ । हामीले कमिटमेन्ट गरेका छौं कि खेल जितेर आएको ७ देखि १५ दिनभित्र पुरस्कार रकम निकासा गसिक्नुपर्छ ।
अब दुई दिनभित्र खातामा पुग्छ । आज कार्यक्रममा राखेर पुरस्कार पनि बितरण गरौं भन्न खोज्या थियौं । खाली हातजस्तो भयो । तर, २ दिनमा पुग्छ । यसमा ढुक्क हुन आग्रह गर्छुृ ।
मैले (नेपालको खेल) हेर्या छु । इन्डियामा त अहिले नेपालकै प्रचार हुन्छ । इन्डियन च्यानलले नेपालकै प्रचार गरेका छन् । नेपालको समूहमा पाकिस्तान र भारत छन् होइन ? नेपालले सँधै डाइरेक्ट पाकिस्तान र भारतसँग फेस गर्नुपर्ने अवस्था छ ।
यो पार पाइसकेपछि मलाई लाग्छ, पहिलो फेजमा यो टीमहरु फेस गरिरहनु पर्दैन । अर्को टिमसँग जान्छजस्तो लाग्छ मलाई । यसका लागि तपाईंहरु सक्षम हुनुहुन्छ । यो पार लगाउनुस । फर्केर आएपछि पुरस्कार राशी हस्तान्तरण गर्छौं । मन सानो नगरी अगाडि बढ्नुस ।
म एउटा कुरा के भन्न चाहन्छु भने, छक्का हान्ने सुरमा सबै कुरा नगुमाउनुस । सबै नेपाली जनताले तपाईंहरुलाई हेरिरहेको छ । राष्ट्रिय गौरब बोकेर जाँदै हुनुहुन्छ । उत्साहीत भएर खेल्नुस तर पनि के भन्छु भने छक्का प्राप्त गर्ने नाममा, छक्कै–छक्का हान्ने सुरमा सबै कुरा नगुमाउनुस । गेमलाई कन्ट्रोल गर्न, बसमा लिन पनि केही ‘ब्याक’ हट्र्नुपर्छ ।
यसो हेर्छु कहिलेकाहीँ । छक्का चौका हान्ने सुरमा चुकेको हो कि जस्तो हो कि जस्तो लाग्छ मलाई । म क्रिकेट खेलाडी होइन । सुरुमा त सिक्या हो । ब्याटसँग बल जुधेर अम्ला फुटेपछि छोडिदिएँ । हामीले खेलेको समय अर्कै खालको थियो । अहिलेजस्तो स्पोन्सर गर्ने थिएनन् । खल्तिबाटै पैसा निकाल्नुपथ्र्यो । जमाना निकै फरक छ । अब १० वर्षपछि झनै फेसिलिटी पाउँछन् ।