Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

यू–१९ एसिया कप : अफगानिस्तानसँग नेपाल पराजित


सारांश

यू–१९ एसिया कप : अफगानिस्तानसँग नेपाल पराजित
images

काठमाडौं । एसीसी यू–१९ एसिया कपको आफ्नो दोस्रो खेलमा अफगानिस्तानविरुद्ध नेपाल ७३ रनले पराजित भएको छ ।

आइतबार यूएईको आईसीसी एकेडेमी ओभल–२ मा भएको खेलमा अफगानिस्तानले प्रस्तुत गरेको २६२ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा १८८ रन जोडेर अलआउट भयो ।

नेपालका ओपनर अर्जुन कुमालले ९१ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले १०८ बलमा १३ चौका प्रहार गरे । कप्तान देव खनालले २४, गुल्सन झाले १७, दीपक बोहराले १५ र दीपेश कडेलले ११ रन थपे ।

अफगानिस्तानका फरिदुन दाउदजाई र नासिर खानले समान तीन विकेट लिए । मोहम्मद युनिसले दुई विकेट लिदा वहिदुल्लाह जद्रान र खालेल अहमेदले एक–एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको अफगानिस्तन टोलीले निर्धारित ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनाएको थियो ।

अफगानिस्तानका जम्सिद जद्रानले १०६ रन बनाए । उनले १५२ बलमा आठ चौका प्रहार गरे । नुमन साहले ४१ बलमा पाँच चौका र तीन छक्कासहित ६० रन थपे । रहिमुल्लाह जुर्मतीले ३५, वफिउल्लाह तराखिलले १५, सालेल अहमेदले १३ र खालिद तानिवालले १० रन जोडे । 

नेपालका गुल्सन झा, हेमन्त धामी र सुवास भन्डारीले समान दुई विकेट लिए । दीपेश कँडेल र आकाश चन्दले समान एक विकेट लिए ।

यो हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना निक्कै कमजोर बनेको छ । यसअघि, पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो । अफगानिस्तान पनि पहिलो खेलमा भारतसँग सात विकेटले नै पराजित भएको थियो ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार भारतसँग खेल्ने छ । आईसीसी एकेडेमी ओभर–२ मा हुने यो खेल बिहान ११ः१५ बजे सुरु हुने छ ।

समूह ‘ए’मा नेपालबाहेक बाँकी तीनै देशले आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएका छन् । समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् । दुवै सेमिफाइनल खेल मंसिर २९ गते हुनेछ । प्रतियोगिताको फाइलन खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुस १ गते हुने छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij