सारांश
काठमाडौं । निजी क्षेत्रको लगानीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदान फागुनबाट सञ्चालनमा आउने भएको छ ।
मैदान निर्माणस्थल रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ दरखसवा बिहीबार पत्रकार सम्मेलन गर्दै एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुवँरले मैदानको पहिलो चरण निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए ।
निर्देशक कुवँरले निर्माणाधिन क्रिकेट रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको बताए । उनले मैदानमा सात वटा पिच रहेको र फागुन १ गतेबाट प्रतियोगिताका लागि खेल्न योग्य हुने स्पष्ट पारे।
वैशाख सम्ममा पहिलो चरण सक्ने योजना रहेपनि त्यो भन्दा ४ महिना अघि नै पूरा भएकोमा खुसी व्यक्त गरे ।बाँकी रहँदै निर्माण सम्पन्न भएको हो ।
रंगशालामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुमहरु निर्माणको काम माघ महिनाबाट सुरु गर्ने पनि निर्देशक कुवँरले जानकारी दिए । त्यसपछि ५ हजार दर्शक क्षमता प्यारापिट निर्माण गरिने बताइएको छ । आगामी दशैं सम्ममा रंगशालाको सम्पूर्ण काम पूरा हुने प्रतिबद्धता जनाए ।
प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले मैदानमा धेरै भन्दा धेरै प्रतियोगिता सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्य गरेर प्रतियोगिताहरु सन्चालन गर्न आग्रह गरे।
रुपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले एक्स्ट्राटेकसँग क्रिकेट विकासका लागि सहकार्य गर्न जिल्ला संघ तयार रहेको बताए ।