सारांश
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको हो ।
लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।
अदालतले पीडित किशोरी गौशाला २६ को उमेर घटना हुँदा १८ वर्ष पूरा भइसकेको पनि ठहर गरेको छ । तर, पीडित बालिग भए पनि जबरजस्ती करणी भएको जनाउँदै अदालतले लामिछानेलाई दोषी ठहर गरेको हो ।
“...१८ वर्ष उमेर पुगेको परिवर्तित नाम गौशाला २६(छ) को नाजुक समेतको फाइदा उठाइ करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकोले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९, (१) (२) (३) ‘ङ’ बमोजिमको कसुर गरेको ठहर्छ । सोसहित संहिताको दफा २१९ ३ (घ) बमोजिम कसुर कायम गरी सजाय गरिपाउँ भन्ने कसुर दाबी सो हदसम्म पुग्न सक्दैन,” अदालतले भनेको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) 'ङ' मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरे ७ देखि १० वर्षसम्म सजाय हुने व्यवस्था छ ।
लामिछानेलाई सजाय तोक्न आगामी पुस २५ गतेलाई पेसी तोकिएको छ ।
गत वर्षको भदौ २१ मा काठमाडौंस्थित प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध बलात्कारको उजुरी परेको थियो । सोही उजुरीका आधारमा उनी गत वर्ष असोज २० मा पक्राउ परेका थिए ।