सारांश
काठमाडौं । गौशाला २६ माथि बलात्कार भएको ठहरसहित जिल्ला अदालत, काठमाडौंले शुक्रबार बेलुकी क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गर्यो । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई दोषी ठहर गर्दा पीडित पनि बालिग भएको व्याख्या गर्यो ।
पीडितलाई बालिग ठहर नगरेको भए सन्दीप तत्काल थुनामा जानुपर्थ्यो र कैदमा बसेर उच्च अदालतमा मुद्दाको पुनरावेदन गर्नुपर्थ्यो ।
पीडितलाई बालिग ठहर गर्ने जिल्ला अदालतको फैसलापछि सन्दीपमाथिको सजाय अधिकतम १० वर्षमा सीमित भएको छ । मुलुकी फौजदारी कार्यविधि संहितामा भएको व्यवस्था हेर्दा, १० वर्षसम्म कैद सजाय भएको मुद्दामा धरौटीमा छुटेको आरोपितले बाहिरै बसेर पुनरावेदन गर्ने अनुमति पाउछ ।
सरकारी वकिलको कार्यालयले पीडित गौशाला २६ नाबालिका रहेको भनी दफा २१९(१),(२),(३)(घ) अनुसारको दाबी लिएको थियो, जुन ठहर भएको भए १० देखि १२ वर्षसम्म कैद हुन्थ्यो ।
सन्दीप पक्षधरहरुले सुरुदेखि नै अघि सारेको उमेर विवादलाई अघि सारेर जिल्ला न्यायाधीश ढकालले घटना हुदा पीडित १८ वर्ष पुगिसकेको भनी व्याख्या गरे । जसका लागि उनले स्थानीय तहका कागजात र पत्राचार, अस्पतालको विवादास्पद दर्ता किताबलगायतको आधार लिएको देखिन्छ ।
पीडित बालिग भइसकेको ठहर गरेका न्यायाधीशले त्यही ऐनको दफा २१९(१),(२),(३)(ङ) अनुसारको कसुरदार ठहर गरे । दफा २१९(१),(२),(३)(ङ) मा बालिगमाथि हुने बलात्कारमा ७ वर्षदेखि १० वर्षसम्मको कैद सजाय हुन्छ ।