सारांश
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष प्रदान गर्दै आएको एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९ अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ ।
मञ्चले बुधबार एक कार्यक्रम आयोजना गर्दै पिपल्स च्वाइसका पाँचजना मनोनयन सार्वजनिक भएको हो । अवार्डको २०औँ संस्करण आगामी माघ २८ गते हुँदैछ । यसअघि माघ १२ गते तय भए पनि प्राविधिक कारणले कार्यक्रम केही दिन सारिएको मञ्चले उल्लेख गरेको छ ।
मनोनयनमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् । खेल क्षेत्रमा पाएका सफलता र लोकप्रियताको आधारमा यस विधामा खेलाडीलाई मनोनयन गरिन्छ ।
करातेका विप्लवलालले इन्डोनेसियाको जाकार्तामा सम्पन्न विश्व सितोरियो कराते च्याम्पियनसिपमा रजत पदकका साथै चीनको हाङचउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा दुई बाउट जित्न सफल भएका थिए ।
काभा महिला भलिबल च्यालेन्ज कपमा कांस्य विजेता निरुता केशवलाल स्मृति महिला भलिबल प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी हुन् । शारीरिक सुगठनकी रजनी श्रेष्ठ भने नेपालमै सम्पन्न एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा ५५ केजीमाथि तौलसमूहकी स्वर्ण पदक विजेता हुन् ।
टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ डबल्समा राष्ट्रिय च्याम्पियन र स्ट्याग ग्लोबल च्याम्पियन्स लिगकी विजेता हुन् ।
यस विधाको विजेता इसेवा भोटिङ, मञ्चका सदस्यको मत, सामाजिक सञ्जाल (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्ने) बाट मत र २७ खेलका प्रमुख प्रशिक्षकको मतका आधारमा हुनेछ ।
इसेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जालको मतभार २५ प्रतिशत, नेपाल ओलम्पिक कमिटिमा आवद्ध २७ राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र मञ्चका सदस्यको मतभार १२.५ प्रतिशत हुनेछ । भोटिङ कार्यक्रमको अघिल्लो दिन बन्द हुनेछ ।
भोटिङ पार्टनरका रूपमा विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी इसेवासँग बुधबार नै एक कार्यक्रमबीच सम्झौता भएको छ । इसेवाका तर्फबाट चिफ विजनेस अफिसर आशिष गौतम र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सो अवसरमा गौतमले मनोनयनमा परेका पाँचै जनालाई इसेवा केयर प्याकेज प्रदान गरिने बताए । त्यसमा एक लाख रुपैयाँ बराबरको स्वास्थ्य प्याकेज रहेको छ । मञ्च र इसेवाबीचको यो लगातार चौथो वर्षको सहकार्य हो ।
मञ्चका अध्यक्ष सुवेदीले इसेवालगायत अन्य प्रायोजकलाई धन्यवाद दिँदै अवार्डका अन्य चार विधामा पनि केही दिनमा नै सार्वजनिक गरिने बताए । पल्सर स्पोर्ट्स अवार्ड २०७९ को अन्य विधामा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट युवा खेलाडी र पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन् ।